ज्यो धर्मानन्द पाैडेलका कविता
(काशीनाथ पौडेलका एकमात्र पुत्र थिए कर्णाखर । कर्णाखरका पाँच छोरा र चार छोरी थिए । कर्णाखरका पाँच छोरामध्ये जेठा नारद (१९४१–१९९५)का माहिला पुत्र थिए ज्यो. पं. धर्मानन्द उपाध्याय पौडेल (१९६५–२०२०) । उनी ताप्लेजुङको ढुङ्गेसाँगु गाउँमा जन्मेका थिए । पछि झापाको शनिश्चरेनेरको सेतीपानीमा त्यस परिवारको बसाइ सराइ भयो । यसबीच उनी बर्मादेश पुगी केही समय बसेका पनि थिए । यिनै ज्यो. पं. धर्मानन्द पौडेल हाम्रो कुलवंशको ढुङ्गेसाँगुपट्टिको हाँगाका प्रथम शक्तिशाली कवि हुन््् । उनले अनेक विषयमा कविता रचेका थिए । खासगरी पारिवारिक झमेला, सामाजिक अन्धविश्वास, ईश्वरभक्ति, राजनीतिक उत्पीडन र भौगोलिक विकटतामाथि उनका कविता शक्तिशाली थिए । यीबाहेक उनका अन्य धेरै फुटकर रचना थिए । उनले सात सालको विप्लवको समयमा पूर्वी पहाडमा बाहुन–छेत्रीमाथि लिम्बूहरूको अत्याचार, आक्रमण, मानवीय एवम् भौतिक संहारको घटनालाई हृदयस्पर्शी ढङ्गले कवितामा बयान गरेका थिए । ती कविताहरु घरघरमा गाइन्थे । तर आज हाम्रो लापर्बाहीका कारण ती सबै रचना हराए, नासिए र लोप भए । उनका छोरा मेदिनीप्रसादको सुरक्षामा रहेका केही कविता मेरो हातमा परेका छन् । काशीनाथ वंशका सन्ततिका लागि यी अत्यन्त ठूला सम्पत्ति हुन् भन्ठान्छु म । तीमध्ये एउटा छानेर आज यहाँ प्रस्तुत गरेको छु । पढ्नुहोस् ज्यो. पं. धर्मानन्द उपाध्याय पौडेलकृत “मातासँगको बिलौना” को अलिअलि सम्पादित कविता )
मातासँगको बिलौना
गुरुर्ब्रह्मा गुरुर्विष्णु गुरुर्देवो महेश्वरः
गुरु साक्षात् परंब्रह्म तस्मै श्रीगुरवे नमः ।।
हे जन्मभूमि जननी किन हो मलाई
फालीदियौ नि अब मर्नु कहाँ म जाई
देख्छू सबै हजुरका पनि काखमाहाँ
देऊ बताई म अभागी छु जाउँ काहाँ ।।१।।
मातापिता पनि रिसाउनुभो मदेखि
एता म दुःखि छु पिताजी पनी नदेखी
लीएर सम्पति पिताजि पनी गएछन्
दिएर दुःख किन हेरि बसीरहेछन् ।।२।।
आमा इ बन्धनहरू बलिया बनाई
बाँधेर खाडलमहाँ दिनुभो लडाई
फेरी रिसाउनुभयो किन हो मदेखि
कस्तो कठोर दुःख कर्म दियौ नि लेखी ।।३।।
आमा मलाई अब बस्न खटाइदेऊ
यो मूर्ख पुत्रकन काख उठाइलेऊ
रुन्छू म ता धुरुधुरू अब जाउँ काँहाँ
बाँधेर फालिदिनुभो इ समुद्रमाँहाँ ।।४।।
माता पिताकन मलाइ बताइदेऊ
यो दुःख पोखछु सबै म पिताजिछेउ
यो कर्म गर्न नि पिता कि दिखाइदेलान्
कि पुत्र हो भनी उठायर काख लेलान् ।।५।।
आमा तपाइँसरि को छ दयालु अर्को
देऊ मलाई पनि बस्न नमानी झर्को
देख्नुहुँदै छ घरको व्यवहार जो छ
यस्ता अभागि दुःखिलाइ सहाय को छ ।।६।।
आमा पिताजि हुनुहुन्छ कहाँ म जाई
यो दुःख आपति सही कति दिन् म खाई
आशा नपाइ भर छैन मलाई कोई
यो दुःख आपति सहूँ कति दिन् म रोई ।।७।।
आमा भिज्यो शरिर यो सब आँसु आई
देऊ न काख अब लौ म अभागिलाई
कोही कसुर् अघि गरेँ पनि माफ पाई
को छन् दयालु र सहाय कहाँ म जाई ।।८।।
आमा पिताजिकन चिन्न मलाई सारो
आशा छ भारि किन मान्नुभयो नि गारो ।
सम्पूर्ण यो जगतमा जति जो भएको
देखिन्छ बाबुहरुका सँगमा रहेको ।।९।।
आमा–पिताजिसँग केहि विरोध नाहीँ
दर्शन् मलाई किन बक्सनुहुन्न काहीँ
कूपुत्रझैँ गरी मलाइ नफालिदेऊ
पुत्रै रहेछ भनि काख उठाइलेऊ ।।१०।।
आमा मलाई अघिका दुःखमा परेको
थाहा छँदै छ व्यवहार सबै गरेको ।
सम्पूर्ण दुःख जति हो अब टारिदेऊ
पुत्रै रहेछ भनि काख उठाइलेऊ ।।११।।
आमा अभागि मसरी अरु छैन कोही
यो प्राण राखनु अहो कति दिन् म रोई
दिएन दैविगतले कि भुमी नपाई
लेखीदिएन किन हो म अभागिलाई ।।१२।।
आमा कुनै चिजविना दुःख नै छ फेरि
पाइनँ बस्न किन हो मइँले घडेरी
कस्ता कठोर दिन जन्म दिनूभएछ
लेखीदिएनछ कि दैव कता गएछ ।।१३।।
आमा वसन्त ऋतुमा पनि बाबु आई
गाली गरे झइँ म सुन्छु तपाइँलाई
पालन् इ प्राणीहरुको तिमिलाइ भारा
लागेछ गर्न जति छन् सब देश सारा ।।१४।।
आमा तपाइँसँग वस्तु सबै रहेछ
म दुःखीलाई किन फालिदिनूभएछ
सम्पूर्ण दुःख र अभाग हटाइदेऊ
पुत्रै रहेछ भनि काख उठाइलेऊ ।।१५।।
आमा म जिद्दि गरदै छु पिताजिलाई
दर्शन् कसो गरि हुनेछ कहाँ म जाई
पीता कुपुत्र झइँ गर्नुभयो मलाई
हँुदैन सुक्ख प्रभुको दरशन् नपाई ।।१६।।
आमाजि हे कति म बिन्ति चढाउँ रोई
बताइबक्सनुहवोस् न पिताजि खोई
यस्ता कठोर दुःखमा म अभागिलाई
छाडेर फालनुभयो किन हो नआई ।।१७।।
आमा अघि बइँसमा इनि जोडिलाई
सोच्छन्दले गरि डुले सब जीइताई
सारा इ इन्द्रियहरू बलिया रहेछन्
जाहीँतही पनि ति आँट दिने भएछन् ।।१८।।
आमा इ बन्धन फुकाइदिए मलाई
सम्झन्छु रात्–दिन प्रभू म हजूरलाई
ज्ञानेन्द्रियै जति सबै किन चेत् हराए
कर्मेन्द्रियै पनि त देखि उसै डराए ।।१९।।
आमा हजुर्सँग म भेट गरूँ भनेर
दौडिन्छ यो मन जता जति नै उडेर
आखीरिमा हजुर ता सँगमै रहीछौ
कुन् कर्मले गरिलिँदा रिसमा भईछौ ।।२०।।
आमा परेँ हजुरका अब काखमाहाँ
पुत्रै भनी लिनुहओस् अब जाउँ काँहाँ
यो दुःख देखि अब टारनुहोस आमा
की झोलि भिर्नु कि त लाउनुपर्छ जामा ।।२१।।
आमा इ केशहरु पाकिसके तथापि
छुट्तैन दुःख किन हो म अभागिमाथि
दानै पनी सब गरेँ महातारी मेरी
सम्पूर्ण दुःख अब टार नपार फेरि ।।२२।।
आमा सुक्यो शरिर यो रति छैन मासु
भोगूँ इ दुःख कति दिन् म बगाइ आँसु
यो दुःख लेखिदिनुभो कति हो मलाई
मिल्नेछ सुक्ख कि कतै अब लौ मलाई ।।२३।।
जातमाको ब्राह्मण हो पौड्याल हो थर
मदेसको सारा खेती तेम्बे साँगु घर
मेची अञ्चल झापा जिल्ला बुधबारे गाउँ
गोत्र मेरो आत्रेय हो धर्मानन्द नाउँ ।।२४।।
शत्रू जती छन् घरमाथि आई
गर्छन् पुजा ती बरु आफुलाई
जेठा इ भाई अनि साइँलामा
मुद्दा नगर्नू इनका सँगैमा ।।२५।।
शत्रू उठे मिल्न असल् छ जान
मुद्दा गरे मिल्न कठिन् छ खान
लाभ्रू थलैमा पनि कुन्ज आई
छैटौँ भएछन् सुन नानि भाइ ।।२६।।
ठूलाबडा इष्ट हुनन् तथापि
भर् छैन इन्को किन हो इमाथि
जायस्थलैका पनि जीव जाई
लीएर माथी शनि–राहुलाई ।।२७।।
बस्नूभएछौ अरिका घरैमा
क्यै हुन्न पत्नीसँगका भरैमा
आठौँ नऊका पनि सौरि जाई
लीएर राहू अनि जीवलाई ।।२८।।
केन्द्री भएछन् बहुतै रमाई
आयू दिए दीर्घ तपाइँलाई
फेरी गुरूको पनि दृष्टि पर्दा
पुण्यैभुमीमा पुगिनेछ मर्दा ।।२९।।
केन्द्री भई साथी गुरू लिएका
उस्माथि हर्षित् बहुतै भएका
पुण्यै बिताई मनमा तथापि
ढीलो छ सारै नमिलेर साथी ।।३०।।
आफ्ना घरैभित्रमहाँ गएर
केतू बस्यो कर्मथला गएर
कुरा नसुन्ने अरुले भनेको
सुन्दैन पैले जति हो सुनेको ।।३१।।
०००
(प्राप्त कवितामा पदयोग–पदवियोग र हिज्जेसम्बन्धी अनगन्ती त्रुटि थिए । कवितामा कविकै हस्ताक्षर होइनन् भन्ने लागेर ती त्रुटि सच्याइएको छ । छन्द–भङ्ग नहोस् भन्नाखातिर छन्दअनुसार ह्रस्वदीर्घ तथा खुट्टा काटेका अक्षर यथावत् राखिएको छ ।– दिनेश)
भजन
–ज्यो. पं. धर्मानन्द उपाध्याय पौडेल
हे विघ्नेश्वर विघ्न केहि नपरून् खेल्बाड गर्दामहाँ
अक्किल् ज्ञान् घटमा बसेर गरिद्यौ श्रीव्यासजीले यहाँ
जिब्रामा निशिदिन् सरस्वति बसुन् लक्ष्मी बसुन् माथमा
रक्षा ईश्वरले गरून् खुसि भई चन्द्रै बसुन् साथमा ।।१।।
परिचय
जिल्ला पूर्व इलाम चारथुमको जैपुर हो घर् पनि
धर्मानन्द उपाध्य ज्योतिषिजि ई भन्थे मलाई भनी
नाऊँ वत्तन सब् बयान् गरिसकेँ मेरा भएका जती
शास्त्रैबाट भजन् बनाएँ बुझनू कत्थैक जोडी कती ।।२।।
एक हास्य पढ्नोेस्
चुचो भाँची चको दिएर लहुरो काँधमा चढाईदिनू
तेर्सो लाठी गराइदेउ र नमा टुपी थमाईदिनू
न नाङ्गो गर लौ नराख बीचमा पस्रेर खुट्टासँग
नाऊँ गाँउ बिचारि टारिदिनुहोस् यो दुःखिका दुःखको ।।१।।
लको मुन्टो निमोठिदेउ र अनी धोती लगाईकन
बका काँधमहाँ लगाइ लहुरो खुट्टो उचालीकन
गको दक्षिण पाउ भाँचेर टको खुट्टो पसारी दिनू
टीका चुल्ठी लगाइदेउ कुन भो नाउँ बिचारीलिनू ।।२।।
चको भाँची चुचो दिएर लखकाा् पुच्छर् लगाईदिनू
नका काँधमहाँ लगाइ लहुरो कानै लगाईदिनू
मुर्धन्ने पनि स लगायर टमा गआदि भाँचीदिनू
कुन्कुन् अक्षर नाउँ कुन् हुन गयो हेरी बिचारी लिनू ।।३।।
नलेखेर उता फिराई दिइ लख्कानै लगाईदिनू
नको टाउको तानिदेउ र अनी टोपी लगाईदिनू
पको पेट चरक्क पारी चिरिद्यौ चुल्ठी लगाईकन
एस्को अर्थ बताउ जोतिसिजि हो मन्मा बिचारी भन ।।४।।
बलेखीकन काँधमा त लहुरो उस्कार् लगाईदिनू
पको बाउपटी निमोठिदिइ कान् टुप्पी खमाईदिनू ।
उत्तर
एसको अर्थ हो ः
निघुरादिनको मास्टर जोतिसी धर्मानन्द उपाध्या पौडेल् एसको अर्थ एई हो ।
देउसी गीत
हाम्रो वर्ष दिनमा आएको चाहाड हो तिहारमा खेल्छौँ हामी देउसी... ।
देउसी खेल्दै द्यौसे आए चन्डा दिनुहवस् ।।
हाम्रा भावी सन्तानको आँखा खोल्नुहवस््
ओरिपरि झिलिमिली तिहारको बेला
यो पर्वमा कोही पनि छैनन् भोका–मैला ।।१।।
धनी गरिब दुःखी–सुखी सबै एकैनास
गराउने ईश्वरले पूर्ण गरून् आस
देउसी खेल्दै देउसे आए चन्डा दिनुहोस
हाम्रा भावी सन्तानका आँखा खोल्नुहोस ।।२।।
रात्माटेको रातो माटो पहाडको भीर
अप्ठ्यारो यो गोरेटामा चिप्लिएर धेर
आयौँ बल्ल तपाईँका घर देउसी खेल्न
अँध्यारो यो देशमा अब बत्ती जगाउन ।।३।।
देउसी खेल्दै देउसे आए चन्डा दिनुहोस
हाम्रा भावी सन्तानको आँखा खोल्नुहोस ।
अमूल्य यो विद्याधन नेपालमा बढोस्
अशिक्षित नेपालीको नाउँ सुन्ने होओस् ।।४।।
विद्यावती नेपालमा झलमल होओस्
नेपालीको उच्चो नाम जताततै रहोस् । देउसी०
जुवा तास खेल्न होइन लुगा फेर्न होइन
रन्डीबाजी मदिराको सेवन गर्ने होइन ।।५।।
हाम्रा आफ्ना जहानलाई लुगाफेर्न होइन
अँधेरो यो नेपालमा बत्ती जगाउन । देउसी०
परासर वसिष्ठादि हाम्रै जिजुहरू
विद्याबाटै सबै काम गर्थे सुरुसुरु ।।६।।
हराएको सोही विद्या जगाउनलाई
सिरेटामा काम्दै आयौँ देउसी खेल्नलाई । देउसी०
माग्नेलाई दधिचिले आफ्नो हाड दिए
शिविजीले बाजलाई ज्यानैसमेत दिए ।।७।।
मकरध्वजले शरीर फेरि ब्राह्मणलाई दिए
परोपकार गरी ठूलो कीर्ति चलाइलिए । देउसी०
देउसी खेल्दै देउसे आए चन्डा दिनुहवस्
हाम्रा भावी सन्तानका आँखा खोल्नुहवस् ।।८।।
उपदेश
धर्मानन्द उपाध्याय पौडेल
(काशीनाथ पौडेलका एकमात्र पुत्र थिए कर्णाखर । कर्णाखरका पाँच छोरामध्ये जेठा नारद (१९४१–१९९५)का माहिला पुत्र थिए ज्यो. पं. धर्मानन्द उपाध्याय पौडेल (१९६५–२०२०) । उनी ताप्लेजुङको मैवाखोला–२ अर्थात् उसबेलाको धनकुटा गौँडाअन्तर्गत पर्ने मैवाखोलाको ठोट्ने गाउँमा जन्मेका थिए । प्रस्तुत कविता सम्भवतः २०१०–१५ सालतिर आफ्नै जन्मथलामा बसेको बेला उनले रचेका हुन सक्छन्, तिथिमिति थाहा हुन सकेको छैन । ज्यो. पं. धर्मानन्द उपाध्याय पौडेलकृत शीर्षक नदिइएको यस कविताको शीर्षक मैले जुराइदिएको हुँ । –दिनेश पौ.)
उघार्न आँखा चाहिन्छ विद्या इस्कुल चाहियो
नपढी विद्या बनेछौँ अन्धा र दुखः पाइयो
हाम्रो त जन्म बितायौँ अब जसरीतसरी
सन्तान हाम्रा बनाऔँ राम्रा पढाऔँ बेसरी ।
सबैका छोरा सबैका छोरी बटुली पढाऔँ
सप्रन्छ वंश सुध्रन्छ देश फिँजिन्छ सुनाऔँ ।
बोकेर धन को लान्छ भन ई आँखा चिम्लँदा
सुकर्म गरौँ रहन्छ नाउँ पृथिवीलोकमा ।
सुकर्म के हो कुकर्म के हो पढेर जानिन्छ
अपढमाथि अनेकवली आपद पाइन्छ
नपढेकाले पाउँछ दुःख संसारभरिमा
सबैका सामु छँदै छ हेर विद्याको महिमा ।
भोकमा खाने जीवन थाम्ने दुःखले कमा’को
अन्नको नाश नगर अब हे देशवासी हो
प्राणको टेवा अन्नको गेडा अन्नको जीवन
नपाए भात मान्छेको जात कदापि रहन्न ।
जाँड र रक्सी खानका लागि यो अन्न बिगारी
सन्तान हाम्रा बनाइसक्यौँ बाटाका भिखारी
घाममा सुकी पानीमा भिजी गरेको कमाइ
मात्नका लागि नपारी स्वाहा नफालौँ कुहाई ।
जाँड र रक्सी बनाई सबै दुःखको कमाइ
त्यसै ती बोकी हिँडेका देखी पसिना चुहाई
चुँडिन्छ चित्त यो मन रुन्छ हृदय पोलेर
यो झिँजो लेखी चढाएँ बिन्ती सबमा नुहेर ।
जाँड र रक्सी खाएर माती अनाज सकिन्छ
छिनको मोजमा भूलमा पर्दा भकारी रित्तिन्छ
निसाले लान्छ अन्नको सह अकाल डाकिन्छ
जहान–बच्चाको मुख हेर्दा मुटु नै चँुडिन्छ ।
दोबर डेढा ब्याजमा परी रिनमा डुबिन्छ
घर र खेत लिलाम हुन्छ आफू के भइन्छ
पियारा मेरा ए दिदी–बैनी ए छोरी–बुहारी
बेचेर रक्सी नपार अब मुलुक भिखारी ।
कुखुरा हाँस सुँगुर बाख्रा भेडाका बथान
बढाऊ तिमी मलिन्छ हाम्रा स्वाएर रछ्यान
सप्रन्छ खेती धान र मकै गहुँ र फापर
हिउँदे बर्खे साग र सब्जी आउँछ उर्लेर ।
सुन्तला आदि फलका जाति मौलाई आउँछन्
ती फल खाई सन्तान हाम्रा आनन्द मान्नेछन्
कपास सप्री लुगाको तङ्गी लाग्नेछ घरैमा
ऊनले हाम्रो जानेछ जाडो सिपका भरैमा ।
नेपाल हाम्रो मुलुक स्वर्ग हिमालमुनि छ
नेपालवासी नेपाली जाति सब को सुखी छ
पश्चिम काली पूर्वमा मेची दक्षिण भारत
माझमा राम्रो नेपाल हाम्रो सृष्टिको सार छ ।
हिमालबाट बगेको ताँत खोला र नदीको
रमिता हेर के मनोहर नेपाल भूमिको
टिमाई माई तमोर, कोका र सप्तकौशिकी
काबेरी लिखु वाग्मती साँखु सागर गण्डकी ।
यी खोला नदी भूगोल फाँट फिजिइँदै हुँदा
नेपाल हाम्रो रसिलो राम्रो रहन्छ सर्वदा
अनेक जातिका पशुपन्छी अनेक बोलीमा
रात र दिन गाउँछन् गान नेपाल महिमा ।
नेपाली जाति मानिस हामी अनेक जाति छौँ
विचार गर्दा डुबेर हेर्दा सगोल एक छौँ
सुख र दुःख जो आइपर्छ यो हाम्रा देशैमा
सबैले भोग्नु सहनुपर्छ मिलेर साथैमा ।
सबैका लागि सबैले मिली उद्योग बढाऔँ
स्वदेशवासी पारेर खुसी सुनाम चलाऔँ
यी तागाधारि यी मतवाली ई विष्ट पुहुनी
सबै हुन् मान्छे सबैका लागि चाहिन्छ जिउनी ।
००००
Comments
Post a Comment